scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Friday, January 5, 2018

पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा



शान्ता कमली

लमजुङ
लमजुङको ऐतिहासिक स्थल राइनासकोटमा सुरु गरिएको होमस्टेमा आन्तरिक पर्यटक बढेका छन् । भूकम्पले भत्किएका घरको पुनर्निर्माणसँगै सुरु गरिएको होमस्टे यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।
भूकम्पले भत्काएका राइनासकोटका घरमध्ये होमस्टे सञ्चालनका लागि १४ घर आधुनिक तवरबाट बनाइएका छन् । निर्माण भएका मध्ये नौ घरमा होमस्टे सुरु गरिएको छ । ‘होमस्टेका लागि घरहरू तयार भएका छन् । पाउनाका लागि बस्ने खाने राम्रो प्रबन्ध मिलाइएको छ, होमस्टे सञ्चालिका विष्णु गुरुङले भन्नुभयो, यो सुरु भएको प्रचारसँगै पर्यटकहरू आउन थालेका छन् । अमेरिकी नागरिक नतसा बाजनियाकको सहयोगमा घरहरू पुनर्निर्माण गरिएपछि होमस्टे अवधारणा अघि बढाइएको सर्वोदय सेवा आश्रमका अध्यक्ष कृष्णराज ओलियाले बताउनुभयो । उहाँले राइनासमा भत्किएका घर बनाउनुको साथै विस्थापित हुन लागेको गाउँ जोगाएको बताउनुभयो ।
राइनसकोटकी होमस्टे सञ्चालिका दिलमाया गुरुङ पर्यटकलाई बस्न, खान र दृश्यावलोकनका साथै गाउँमा सांस्कृतिक कार्यक्रम पनि देखाउने प्रबन्ध मिलाइएको बताउनु हुन्छ । गाउँ आउने पर्यटकका लागि अर्गानिक खानेकुरा, लोकल कुखुरा, ढिँडो, गुन्द्रुक, कुरिलोलगायतका परिकार खुवाउने प्रबन्ध मिलाइको छ । यस्तै घाँटु, सेर्का, कृष्णचरित्रलगायतका सांस्कृतिक कार्यक्रम पनि हेर्न पाइने होमस्टे सञ्चालिका रामप्यारी गुरुङले बताउनुभयो ।
स्थानीय विकास अधिकारी डिल्लीराम सिग्देलले राइनासकोट होमस्टे प्रवद्र्धनका लागि जिल्ला समन्वय समितिबाट सहयोग गरिने बताउनुभयो । राइनासकोटमा होमस्टेसँगै वातावरणमैत्री अवधारणा पनि सुरु भइरहेको छ । वातावरणमैत्री अवधारणा अनुसार गोबरग्यास, धुवाँरहित चुल्हो, फोहोरमैला र पानीको व्यवस्थापनका लागि काम भइरहेको छ । प्रत्येक घरमा सोलार प्यानल जडान गरिँदैछ । प्रत्येक घरहरूमा गाउँले तवरबाट पिंढी, फलैंचा, आकाशेपानीको व्यवस्थापनका लागि ट्याङ्क जडान, सडक बत्ती जडान कार्यसमेत अघि बढाइएको छ । राइनासकोटमा रहेका केही पुराना घरहरू भने पौराणिक महत्व झल्काउन पहिलैकै स्वरूपमा सुरक्षितसँग राखिएको छ । गुरुङ जातिको बस्ती रहेको राइनासकोटमा उनीहरूको कला, संस्कृतिलाई जोगाउन सङ्ग्रहालय समेत स्थापना गरिएको छ ।
०७२ वैशाख १२ गतेको भूकम्पको स्मारकसमेत राइनासकोटमा निर्माण गरिएको छ । पुनर्निर्माणपछि बनाइएका संरचनाले पर्यटक भित्र्याउन सहज हुने अपेक्षा लिएको राइनासकोट पर्यटन समितिका अध्यक्ष खड्गबहादुर गुरुङले बताउनुभयो । राइनासकोट लमजुङ प्रवेशद्वार पाउँदीबाट तीन घण्टाको पैदल यात्रा र दुई घण्टाको सवारी यात्रापछि पुग्न सकिन्छ । यहाँबाट बुद्ध, मनास्लु, अन्नपूर्ण, पिक ट्वान्टी नाइन, गणेश, माछापुच्छ्रे, लमजुङलगायत गरी १८ वटा हिमश्रृङ्खलाहरू देख्न सकिन्छ ।
एग्रो टुरीजम अवधारणा
राईनासकोटको पुनःनिर्माणसँगै एग्रोटुरीजम अबधारणा पनि सँगसँगै बढ्ने भएको छ । ‘एग्रोटुरीजम अबधारणा अनुसार प्रत्येक घरमा ग्रीन हाउस, कृषि र पशुपालनको पनि शुरुवात हुंदैछ, सर्बोदय सेवाश्रमका अध्यक्ष कृष्णराज ओलीयाले भने,‘ राईनासकोटको तल्लो भागमा अलैंची खेती शुरुवात गरीएको छ, अर्को बर्षबाट राईनासकोटमा चियाखेती समेत गरीने योजना छ ।’
शहर पसेका युवा गाउँ फर्किए
गाउँमा पुनः निर्माणको शुरु हुन थालेपछि गाउँ छाडेर शहर जान खोज्नेहरु पनि गाउँमै रोकिएका छन्, भबिष्य खोज्न गाउँ छाडेर शहर पसेकाहरु पनि धमाधम गाउँ फर्कन थालेका छन्, स्थानीय जितबहादुर गुरुङ भन्नुहुन्छ– ‘पुनःनिर्माणसँगै पर्यटन क्षेत्रबाट गाउँको बिकास गर्न गाउँलेहरु लागेका छन् । गाउँमा नयाँ जागरण आएको छ ।’
पर्यटक भित्र्याउन होमस्टे
गुरुङ जातिको बसोबास रहेको ठाउँ हो, राईनासकोट । यहाँ १४ घरधुरी रहेका छन् । २०७२ साल वैशाखको भूकम्पले यहाँका धेरै घरमा क्षति पुग्यो । भूकम्पले ढलाएका घर ठड्याउन र चर्किएका भूकम्प प्रभावितका मनमा राहतको मलम लगाउन पुगीन अमेरिकन नागरिक नतसा वाजनियाक ।
उनकै पहलमा राईनासकोटका १४ घर भुकम्प प्रतिरोधी ढंगले पुनः ठडिए । स्थानीय महत्व झल्कने गरी भूकम्प प्रतिरोधात्मक घर बनाइएको छ । एकतले घर निर्माणमा डेढ करोड बढी लगानी भएको छ । सर्वोदय सेवाआश्रमको योजना अनुरुप नतसाको पहलमा राईनासकोटमा भूकम्प प्रतिरोधात्मक घर निर्माण गरिएको हो । गाउँमा रहेको परम्परागत घुमाउने घरको पनि मर्मत गरिएको छ ।
राईनास नगरपालिकाको समृद्धिसँग जोडिएको पक्ष रहेकाले राईनासकोटको विकासका लागि नगरपालिकाले उच्च प्राथमिकता दिएको नगरपालिकाका प्रमुख सिंहबहादुर थापाले बताउनु भयो । स्थानीय बासिन्दाका अनुसार राईनास नगरपालिका–९ मा रहेको राईनासकाटेबाट १ सय ८० डिग्रीको विन्दुबाट एकै पटकमा बुद्ध, मनास्लु, अन्नपूर्ण, पिक ट्वान्टी नाईन, गणेश, माछापुच्छ्रे लगायत १८ वटा हिमश्रृङ्खला आँखै अगाडि स्पष्ट देख्न सकिन्छ । ‘नेपाल एकीकरणको सुरुको विन्दु र प्राकृतिक रुपमा अलौकिक दृश्यले भरिपूर्ण ठाउँ हो, लमजुङको राईनासकोट’ स्थानीय बासिन्दा एवम् सर्वोदय सेवा आश्रमका अध्यक्ष कृष्णराज ओलियाले भन्नुभयो । सर्वोदयकै पहलमा विश्वकै पहिलो योग स्तम्भ पनि राईनासकोटमा स्थापना गरिएको छ ।
लमजुङको प्रवेशद्वारा पाउँदीबाट तीनघण्टाको पैदल यात्रा र दुईघण्टाको सवारी यात्रापछि पुग्न सकिन्छ, राईनासकोट । पर्यटन विकासको उच्च सम्भावना बोकेको ठाउँ भएपनि राईनासकोटमा पर्यटन प्रवद्र्धन हुन नसकेको स्थानिय विष्णुकुमारी गुरुङको गुनासो छ ।
यस अघि राईनासकोटमा पर्यटन विकासको उच्च सम्भावना हुँदाहुँदै पनि त्यहाँसम्म पुग्ने पर्यटकहरुको लागि उचित बासको व्यवस्था हुन सकेको थिएन, ठाउँको प्रचारप्रसार पनि हुन सकेको थिएन, राज्यले पनि खासै पहल गरेन, जसका कारण यो ठाउँ ओझेलमा प¥यो, तर अब त्यो स्थिति छैन, राइनासकोटले काँचुली फेरेको छ ।
लमजुङका घलेगाउँ, गाउँशहर काउलेपानी झै अब राइनासकोटले पनि होमस्टेमा छलाङ मार्ने जमर्को गरेको छ । धार्मिक, ऐतिहासिक, पुरातात्विक र पर्यटकीय दृष्टिकोणले समेत महत्वपूर्ण रहेको राइनासकोट नेपालकै उत्कृष्ट गन्तब्य बनाउन सकिने सर्वोदयका अध्यक्ष ओलियको ठम्माइ छ ।

No comments:

Post a Comment