scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Friday, August 31, 2007

लमजुङमा वेपत्ता २५ जनाको अवस्था अझै अज्ञात

लमजुङमा राज्य र माओवादीद्वारा वेपत्ता २५ जनाको अवस्था अझै अज्ञातअवस्था सार्वजनिक नगरे संविधान सभाको चुनावमा भोट हाल्दैनौँ : पीडितहरु
सरकारले लोकतन्त्र घोषणा गरेको पनि करीव डेढ वर्ष पुग्न आँटेको छ। प्रायः सवैले लोकतन्त्रको अनुभूति गर्न पाएका छन् तर, वेपत्ताका परिवारले भने अहिलेसम्म न लोकतन्त्रको अनुभूति नै गर्न पाएका छन् न सहानुभूति नै। वेपत्ताको स्थिति सार्वजनिक गर्ने भनेर शान्ति सम्झौतामा समेत हस्ताक्षर भईसकेको छ। तर, वेपत्ताको ७र८ वर्ष वितिसक्दा पनि सरकारले अहिलेसम्म वेपत्ताको सत्यतथ्य स्थिति सार्वजानिक गरेको छैन । वेपत्ताको स्थिति सार्वजनिक पनि नहुने र परिवारले उचित क्षतिपूर्ति पनि नपाएका कारण वेपत्ताको परिवारमा पुनः नैराश्यता छाएको छ । उनीहरु भन्छन्, ‘वेपत्ताको स्थिति सार्वजनिक नगरे चुनावमा भोट हाल्दैनौ ।’सशस्त्र द्वन्द्वकालीन समयमा मात्रै लमजुङमा २५ जनालाई वेपत्ता वनाइएको थियो । राज्यवाट २३ र माओवादीवाट २ जना वेपत्ता पारिएकोमा अहिलेसम्म उनीहरुको स्थिति अज्ञात छ। अहिलेपनि वेपत्ताका परिवारहरु जिल्लाको इन्सेक कार्यालयदेखि केन्द्रको संयुक्त राष्ट्रसंघको कार्यालय सम्म धाईरहेका छन्। त्यतिमात्र नभएर तत्कालीन सुरक्षा निकायका प्रमुखहरुलाई सर्वोच्चमा समेत किटानी जाहेरी दिएका छन् तर वेपत्ता परिवारको आवाज केवल आवाजमा मात्रै सीमित भएको छ। ‘वावालाई वेपत्ता वनाएको ६ वर्ष भयो ।’ लमजुङ, सिम्पानी गाउँ विकास समिति वडा नं। ३, का रामकुमार भण्डारी भन्छन्, ‘लोकतन्त्रपश्चातको सरकारले पनि केही नगरे संविधान सभाको चुनावमा हामी वेपत्ताको परिवार भोट हाल्दैनौँ।’ उनले भने, ‘वेपत्ताको वारेमा सरकार र राजनीतिक दल मौन वसेमा वेपत्ताको घरमा के भनेर भोट माग्न आउँदो रहेछ, त्यो हर्ेन वाँकी छ।’ शान्तिको नाममा न्यायलाई वली चढाउन नसकिने समेत उनको भनाई छ। ५६ वर्षीय तेजवहादुर भण्डारीलाई १६ पुस २०५८ मा लमजुङ सदरमुकाम वेसीशहरको मनाङ्गे चौतारावाट संयुक्त सुरक्षा फौजले गिरफ्तार गरि वेपत्ता वनाएको थियो। वावु वेपत्ता पछिको यथार्थ जानकारी लिन छोरा रामकुमार भण्डारीले जेठ ३१ गते जिल्ला प्रहरी कार्यालय लमजुङमा जाहेरी दर्ता गर्न जाँदा उनलाई प्रहरीले त्यतिकै फिर्ता पठाएको थियो। त्यस्तै, वैशाख १४ गते जिल्ला प्रशासन कार्यालय लमजुङमा निवेदन दिँदा पनि प्रशासनले कुनै वास्ता नगरेको सामाजिक न्याय समिति लमजुङका संयोजक समेत रहेका रामकुमार भण्डारीले वताए। वेपत्ता नागरिकहरुको यथार्थ स्थिति अविलम्व सार्वजानिक गर्नुपर्ने माग राख्दै उनले वेपत्ता दिवसको अवसरमा आज विहीवार एक प्रेश विज्ञप्ति समेत जारी गरेको छ। कुनैपनि वहानामा मानिसहरुलाई वेपत्ता पार्नु मानव अधिकारको गम्भीर उल्लंघन तथा मानवता विरुद्धको अपराध र वेपत्ता वारे जान्न पाउनु पीडितहरुको अधिकार भएको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा वेपत्ता कार्यमा संलग्न अपराधीहरुलाई तत्काल कारवाही गर्नुपर्ने र वेपत्ता नागरिकका संवन्धमा एक अविलम्व एक उच्चस्तरीय स्वतन्त्र र निश्पक्ष न्यायीक छानविन आयोगको निर्माण गर्न समेत माग गरिएको छ। त्यस्तै, मानवअधिारवादी एवं इन्सेक लमजुङमा प्रतिनिधि कृष्णप्रसाद अधिकारीले पीडितलाई न्याय र पीडकलाई दण्ड नदिए मुलुक फेरी दुर्घटनामा फस्न सक्ने वताएको छ। शसस्त्र युद्धका क्रममा राज्यद्वारा बेपत्ता पारिएका सूर्यपाल निवासी कृष्णवहादुर वस्नेतको खोजिमा उनकी श्रीमति मैया वस्नेत आँसुसंगै सदरमुकाम धाउँदैमा ठीक छ। उनी भन्छन्, ‘श्रीमान्लाई माओवादीले खोजि गरिदिने आश्वासन दिएपनि हालसम्म कुनै जानकारी दिएको छैन।’ उनी भन्छन्, ‘कसैले पनि वेवास्ता नगरे हाम्रो भोट कस्का लागि हाल्ने (’ उनी भन्छन्, ‘घरमा छोराछोरीहरु वावा कहिले आउँछ भनेर रोइरहेका छन्, मैले के भनेर चित्त वुझाईदिने।’ उनको श्रीमान् कृष्णवहादुरलाई विद्यालयमा पढाएर आउने क्रममा ३, असार २०५६ सालमा सूर्यपाल ९, सोतिपसलस्थित रामचन्द्र गिरीको घरवाट प्रहरीले गिरफ्तार गरि वेपत्ता वनाएको थियो। त्यसो त माओवादीको एरिया सदस्य समेत रहेका जिता निवासी रमेशराज पौडेलकी ६३ वर्षीया आमा कुसुमदेवी पौडेलपनि वेपत्ता छोराको खोजी गर्दै लौरो टेकेर सदरमुकाम आउने गर्छिन्। रमेशराज पौडेललाई भोर्लेटार सुरक्षा वेशक्याम्पवाट खटिएका संयुक्त सुरक्षा फौजले कास्कीको मिजुरेडाँडा गाविसको रबैडाँडावाट ६ चैत २०५८ सालमा गिरफ्तार गरि वेपत्ता वनाएको थियो। लमजुङमा राज्यद्वारा पहिलोपटक ९, कार्तिक २०५५ मा दुराडाँडा प्रहरी चौकीले चन्द्रेश्वर च्यानपाटावाट गोरखाका राजु गुरुङ र लिला खनाल तथा कुन्छाका एकवहादुर विश्वकर्मालाई गिरफ्तार गरि वेपत्ता वनाएका थिए। त्यसपछिको बेपत्ता पारिएकामा सिम्पानीका तेजबहादुर भण्डारी, चक्रतिर्थका लिलाराज कट्टेल, राजेन्द्र परियार र शुक्रबहादुर परियार, भलायखर्कका तोयानाथ पोख्रेल, विष्णुप्रसाद अधिकारी र तिर्थराज घिमिरे, जिताका देवराज पौडेल र रमेशराज पौडेल, सूर्यपालका कृष्णबहादुर बस्नेत र चितीका धु्रवराज तिवारी रहेका छन्। त्यस्तै, इशानेश्वरका राजन घिमिरे, भोर्लेटारका सूर्यकुमार श्रेष्ठ, वेसीशहरका बाबुकाजी श्रेष्ठ, दुराडाँडाका विष्णु तिवारी, भोटेओडारका रामेश्वरी भट्टराई, भारतेका दलबहादुर भुजेल पनि बेपत्ता छन्। तनहुँका चिजा विश्वकर्मा, गोर्खाका मिजा कुमाल, राजन प्रजालाई पनि लमजुङबाट सुरक्षाफौजले पक्राउ गरी बेपत्ता पारेको माओवादीले जनाएको छ। वेपत्ता मध्ये इशानेश्वरका चोतनाथ घिमिरे र शेखरनाथ घिमिरेको १७ कार्तिक २०६३ मा स्थानीयवासीले कास्कीको हंशपुर, रुपाकोट र थुम्कीको सिमानामा चिहानमा शव फेला पारेको थियो। यता, माओवादी पक्षबाट बेपत्ता पारिएका चण्डिस्थानका विद्यार्थी राजकुमार रिमाल र बन्सारका मीनराशी गुरुङको अवस्था पनि अज्ञात रहेको छ। राजकुमार र मीनराशीलाई माओवादीले अपहरण गरि वेपत्ता वनाएका थिए। मुलुक संविधान सभाको दिशातिर अगाडि वढीरहेको समयमा अझैपनि सरकाले वेपत्ताको कथाब्यथालाई वुझ्न सकेको छैन। बेपत्ताहरुको स्थिति सार्वजनिक नहुँदा उनका परिवारहरु निकै चिन्तित वनेका छन्। त्यसो त लमजुङका जिल्ला प्रशासन कार्यालय, माओवादीलगायत राजनीतिक दल र संवन्धित संघसंस्थासंग पनि बेपत्ताको वास्तविक तथ्याड्ढ छैन। जिल्ला प्रशासन कार्यालय र आईसीआरसीको तथ्याड्ढमा हालसम्म ७ जना बेपत्ता छन्। यसैगरि इन्सेकसंग २१ जनाको छ भने माओवादीसंग २२ जनाको छ। यी सवैको तुलना गर्दा एउटाको नाम अर्कोसंग नहुनुले पनि लमजुङमा २५ भन्दा वढी वेपत्ता हुन सक्ने देखिन्छ। विगतमा शसस्त्र युद्धमा होमिएको नेकपा माओवादी अहिले सरकारमा छ। माओवादीका नाममा थुनामा परेकाहरु जेलबाट छुटिसकेका छन्। तर, बेपत्ताहरुको कथा र ब्यथा वोकेर तिनका परिवारहरु संविधान सभाको चुनावमा भोट हाल्न वोलाउँदै छन्। यदि संविधान सभा अगावै सरकारले वेपत्ताको वारेमा ठोस कदम नचाले घाटा कस्लाई पर्छ, त्यो भने हेर्न वाँकी नै छ। -HKNepal

No comments:

Post a Comment