बेसीशहर- नेपाल टेलिकम दूर सञ्चार कार्यालय लमजुङले केही दिनभित्रै सिडिएमए प्रविधिको स्काई फोनको ७ सय थान रिमकार्ड वितरण गर्ने भएको छ ।
नेपाल टेलिकम लमजुङका प्रमुख रुद्रकुमार श्रेष्ठका अनुसार लमजुङमा दशैं अघि जीएसएम प्रविधिको मोवाइलको ८ सय थान सिमकार्ड र सिडिएमए प्रविधिको ८ सय थान रिमकार्ड वितरण भइसकेको छ । थप रिमकार्ड जिल्ला प्रशासन कार्यालयसंग परामर्श गरी वितरण गरिने श्रेष्ठले बताए । उनका अनुसार सुन्दरबजार र अर्चलबोटमा निर्माण गरिएको जिएसएम मोवाइलको टावर पनि तिहार अघिनै क्रियाशील गराइने छ । जसबाट भोटेओडार, सुन्दरबजार, परेवाडाँडा, तार्कु, परेवाडाँडा, दुराडाँडा, चन्द्रेश्वर, कुन्छा, धुसेनी, भारते, अर्चलबोट, मञ्ज्याङ, चिती लगायतका गाविसमा पनि जिएसएम मोवाइल सञ्चालन हुन सक्नेछ ।
यता दशैंको शुरुवातदेखि नै बेसीशहरमा वितरित ल्याण्डलाइन टेलिफोन अबरुद्ध भएको छ । टेलिफोनमा डायल टोन ढिलो आउने र आए पनि फोन नलाग्ने लगायतका समस्या देखिएका छन् । टेलिकमका प्रमुख श्रेष्ठ भने सिष्टमको क्षमता भन्दा बढी लाइन टेलिफोन वितरण भएका कारण यस्तो समस्या आएका बताउँछन् । बेसीशहर एक्सचेञ्जमा च्यानल थप गरेपछि यो समस्या हट्ने र यसका लागि दुइतीन दिन लाग्न सक्ने उनले बताए ।
No comments:
Post a Comment