

बेसीशहर- गुरुङ समुदायको महान पर्व ल्होसार -नयाँ बर्ष विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।
गुरुङहरुको उल्लेख्य वस्ती रहेको र उद्गमस्थल मानिने लमजुङका विभिन्न स्थानमा विभिन्न कार्यक्रम गरी ल्होसार मनाइएको जानकारी प्राप्त भएका छन् । जिल्लाको विचौर गाविसमा त ल्होसार मेलाको समेत आयोजना गरिएको थियो । राष्ट्रिय तथा स्थानीय कलाकारहरुद्वारा गुरुङ भाषा, संस्कृति झल्कने गीत, नृत्य र झाँकी प्रस्तुत गरेर ल्होसार मनाइएको थियो ।
सदरमुकाम बेसीशहरमा भने टोल टोलमा पालै पालो नृत्य प्रतियोगिता र भोज भतेर गरेर मनाइयो । ल्होसारको साँझमा गुरुङहरुले बेसीशहरमा मैनवत्ती वालेर र्याली समेत गरेका थिए । अन्त्यमा बेसीशहरका गुरुङ समुदायले सामूहिक भोज "स्यो कैं" खाएर विधिवत रुपमा ल्होसारको विदाइ गरेका थिए । उक्त भोज कार्यक्रमा जिल्लास्थित राजनीतिक दलका प्रतिनिधिहरु कृष्ण कोइराला, धनञ्जय दवाडी, अमर, स्थानीय विकास अधिकारी दिनानाथ लम्साल, क्या. रणबहादुर गुरुङ, डा. दीपेन्द्र गुरुङ, प्रेमबहादुर घले लगायतले गुरुङ संस्कृतिको जगर्ेना गर्दै आफ्नो हक हितका पक्षमा लाग्न गुरुङ समुदायलाई आग्रह गरेका थिए ।
"स्यों कैं" को अवसरमा राष्ट्रिय कलाकारहरु कृष्ण गुरुङ, टीका गुरुङ, सञ्जय गुरुङ, मैतकुमारी गुरुङ र स्थानीय कलाकारहरुद्वारा विविध सांस्कृतिक कार्यक्रम गरिएको थियो ।
सोही अवसरमा क्या. रणबहादुर गुरुङ र डा. दीपेन्द्र गुरुङलाई अभिनन्दन समेत गरिएको थियो । सो अवसरमा आयोजित जिल्लाब्यापी नृत्य प्रतियोगितामा भाग लिनेमध्ये शिलादेवी युवा क्लव सिउरुङ प्रथम, आदिवासी जनजाति विद्यार्थी संघ द्वितीय, भू.पू.सैनिक मावि भोटेओडार तृतीय र खासुर रोधी युवा क्लवले सान्त्वना स्थान पाएका थिए ।
No comments:
Post a Comment