
बेसीशहर- फलफूल बालीमध्ये बढी व्यवसायीक मानिएको सुन्तलाको व्यवसायिक खेती गरेर लमजुङका किसानहरु आत्मनिर्भर हुन थालेका छन् । सुन्तलाखेतीको राम्रो सम्भावना बोकेको यस क्षेत्रमा सुन्तला बिक्रीबाट बर्षोनी लाखौं आम्दानी हुन थालेपछि यसमा लाग्ने किसानहरुको संख्या पनि बढ्न थालेको छ ।
लमजुङको चिती, गाउँशहर, उदिपुर, भोर्लेटार, बांग्रे लगायतका गाविसमा सुन्तलाको व्यवसायिक रुपमा खेती हुने गरेको छ । त्यहाँका किसानहरुले सुन्तला बगैंचामा कफि तथा अदुवाको खेतीसमेत गरेका छन् जसबाट उनीहरुले थप आम्दानी समेत गरेका छन् ।
लमजुङको गाउँशहर गाविसका किसान रामप्रसाद वाग्ले सुन्तला बेचेर बाषिर्क ५ लाख रुपैयाँ आम्दानी गर्छन् । विगत १३ बर्षेखि सुन्तला खेती गर्दै आएका उनी सुन्तलाखेतीबाट आफू सन्तुष्ट भएको बताउँछन् । वाग्लेको बगैंचा भने उदीपुर गाउँ विकास समितिको धिमिरेमा छ । सुन्तलाको व्यवसायिक खेती गर्ने रामप्रसाद सुन्तलाको बजार पनि राम्रो भएको बताउँछन् । उनी भन्छन्- 'बजारको समस्या छैन, गाडिमा हालेर काठमाडौं पुर्याउने हो भने आजको भोली नै सबै सुन्ताल विक्छ । त्यसबापत केही प्रतिशत कमिशन भने दिनर्ुपर्छ ।'
लमजुङमा झण्डै २ हजार हेक्टर जमीनमा सुन्तला खेती हुने गरेको छ । गत बर्षलमजुङबाट ७ हजार मेटि्रक टन सुन्तला उत्पादन भएको थियो भने यो बर्षअनुकूल मौसमका कारण उत्पादन अझै बढेको जिल्ला कृषि विकास कार्यालयका वागवानी अधिकृत डोलकृष्ण सुवेदी बताउँछन् । सुवेदीका अनुसार यो बर्षसुन्तला उत्पादन ७ हजार १ सय २० मेटि्रक टन हुने अनुमान छ । लमजुङबाट उत्पादित सुन्तला राजधानी काठमाडौं, पोखरा, नारायणगढमा निर्यात हुने गरेको छ । लमजुङमा उत्पादित सुन्तला अन्य ठाउँको भन्दा स्वादिलो हुने सुन्तला ब्यापारीहरु बताउँछन् ।
करोडौंको सुन्तला उत्पादन हुने जिल्लामा कोल्डस्टोर नहुँदा किसानहरुले सुन्तलाको उचित मूल्य पाउन सकेका छैनन् । कोल्ड स्टोरको व्यवस्था भइदिए अफसिजनमा सुन्तला बेचेर बढी आम्दानी गर्न सकिने उदीपुरका किसान हरि चापागाईँ बताउँछन् ।
No comments:
Post a Comment