लमजुङ, जेठ १
बेसीशहर- गएको हिउँदमा ऋण काढेर गाउँमा मोटरबाटो पुर्याएका गाउँशहर-९ चिसापानीका बासीन्दा अहिले उक्त ऋण तिर्न का लागि चन्दा अभियानमा जुटेका छन् ।
बर्षौर् अघिदेखि गाउँमा मोटर पुर्याउने सपना साकार पार्न चिसापानी गाउँका बासीन्दाले ऋण खोजेर सडक खनेका थिए । स्थानीय गाउँलेहरुले आफ्नो गच्छे अनुसार मोटरबाटोमा पैसा समेत लगानी गरेका थिए । मोटरबाटोलाई पैसा जुटाउन गाउँका भू.पू.सैनिक, बाहलवाला सैनिक तथा अन्य जागिरमा रहेकालाई 'क' वर्गमा राखियो । 'क' वर्गमा परेकाहरुले आ-आफ्नो १ महिनाको तलव तथा पेन्सनको आधा रकम सडकमा लागनी गरेका थिए । त्यस्तै ख वर्गमा परेका गाउँलेहरुले १ हजार २ सय र 'ग' वर्गमा परेका गाउँलेहरुले ६ सय रुपैयाँ सडक खन्ने काममा सहयोग गरेका थिए । गाँउलेहरु कयौं दिन श्रमदानमा समेत जुटेका थिए ।
यसबाहेक गाउँका ५६ जनाले पछि फिर्ता लिने गरी ५/५ हजार रुपैयाँ सडक निर्माण समितिलाई ऋण सापटीसमेत दिए ।
गाँउशहर गाविसको भकुण्डे बजरदेखि चिसापानी गाउँसम्म जोड्ने भकुण्डे- देउराली- जोगिकुला-चिसापानी सडकको लम्बाइ ७ किलोमिटर छ । उक्त सडक खन्नका लागि कूल १३ लाख रुपैयाँ खर्च भएको थियो । जसमध्ये जिल्ला विकास समितिले १ लाख ५० हजार र गाउँशहर गाविसले १ लाख ६२ हजार रुपैयाँ सहयोग गरेको थियो । बाँकी रकमको जोहो गाउँलेहरुले नै गर्नुपरेको स्थानीय बसीन्दा जगत बहादुर गुरुङले बताउनुभयो । उहाँका अनुसार गाउँलेले आफ्नै श्रोतमा ५ लाख रुपैयाँ जम्मा गरेका थिए । जिविस र गाविसले दिएको करीब ३ लाख र गाउँलेहरुबाट संकलित चन्दा तथा ऋणसापटी लगानी गरेर पनि उनीहरुलाई अझै ५ लाख रुपैयाँ ऋणको भारी छ । सोही ऋणको भारी विसाउन चिसापानीका बासीन्दाहरु अहिले जिल्ला सदरमुकाम सदरमबेसीशहरमा चन्दा माग्दैछन् । हालसम्म करिब १२ हजार रुपैयाँ चन्दा संकलन भएको सडक उपभोक्ता समितिका अध्यक्ष मंगलबहादुर गुरुङले बताउनुभयो ।
बजारका ब्यापारीहरुसंग ५-१० रुपैयाँ चन्दा मागेर ५ लाख जुटाउन नसकिने देखेर अहिले उनीहरु चन्दा नमाग्ने मनस्थितिमा पुगेका छन् । चन्दा अभियान प्रभावकारी नभएपछि अब फेरि गाउँलेहरुसंग सापटी लिएर ऋण तिर्ने विषयमा गाउँमा छलफल भइरहेको गाउँलेहरुले बताए । गाँउलेहरुले सडकमा लगानी गरेको पैसा सरकारले पछि फिर्ता दिने आश्वासन दिएको छ । तैपनि गाउँलेहरु भने ढुक्क छैनन् । सडक खन्न लिएको ऋण तिर्नकै लागि अहिले गाउँलेहरुको ध्यान केन्द्रीत भएको छ ।
No comments:
Post a Comment