बेसीशहर- देशमा १२ बर्षलामो गृहयुद्धको अन्त्य भएको छ । सशस्त्र व्रि्रोहमा हिँडेको नेकपा माओवादी राजनीतिको मूलधारमा आएको छ । मुलुकले संविधानसभामार्फ नयाँ दिशा लिएको छ । विगतको द्वन्द्धका क्रममा हजारौंले मृत्युवरण गरे, हजारौं घाइते भए, कयौं विस्थापित भए, अहिलेसम्म ती सबैको यकिन लेखाजोखा कसैसंग छैन ।
सशस्त्र द्वन्द्धका क्रममा देश एक किसिमले लथालिङ्गको अवस्थामा थियो । सामाजिक, आर्थिक, सांस्कृतिक लगायत सबै क्षेत्रमा द्वन्द्धको नराम्रो प्रभाव पर्यो । शिक्षा क्षेत्र पनि यसबाट अछुतो रहने कुरै भएन । द्वन्द्धले शिक्षा क्षेत्रलाई पनि नराम्ररी गाँज्यो । राज्य र व्रि्रोही दुवैपक्षबाट कयौं शिक्षकहरु मारिए । कयौं विस्थापित भए त्यसको पनि लेखाजोखा छैन । द्वन्द्धकै क्रममा लमजुङमा पनि धेरै शिक्षकले ज्यान गुमाए, धेरै विस्थापित भए । कार्यरत विद्यालयमा पढाउन सक्ने अवस्था नभएर कति शिक्षक अन्यत्र सरुवा भए, कोहीले जागिरै छोडेको उदाहरण पनि छन् । तर अहिले स्थिति विगतको जस्तो असहज छैन । मुलुकमा लोकतन्त्र पछि गणतन्त्र पनि स्थापना भैसकेको छ । द्वन्द्धका क्रममा विभिन्न क्षेत्रबाट विस्थापित भएकामध्ये धेरै पुरानै ठाउँमा स्थापित भैसकेका छन् । तर द्वन्द्धपीडितको नाममा विस्थापितमध्ये केही शिक्षकहरु यस्ता पनि छन् जो अहिलेसम्म विद्यालयमा फिर्ता भएका छैनन् । उनीहरुले कहिँ पढाएका त छैनन् नै तर तलब भत्ता भने नियमित रुपमा बुझिरहेका छन् ।
आफ्नो जिम्मेवारी पूरा नगरी बसी बसी तलब खाने शिक्षकहरुमध्ये लमजुङ आवाजले दर्ुइ जनाको नाम फेला पारेको छ । ती शिक्षकमध्ये एक हुन्- कुशुमाकार उच्च मा.वि. इशानेश्वरका शिक्षक मित्र राज घिमिरे । घिमिरे २०५६ सालबाट विस्थापित भएका हुन् । त्यसपछि उनी अहिलेसम्म कुनै विद्यालयमा पढाउन गएका छैनन् । अहिले उनी कहाँ छन्, शिक्षा कार्यालयलाई पनि थाहा छैन ।
त्यस्तै शुक्र प्रा.वि. अर्चलबोटकी शिक्षिका शान्ता लामिछाने पनि अहिलेसम्म विस्थापित बन्दै तलब भत्ता खाइरहेकी छिन् । जानकारहरुका अनुसार उनी खाँट्टी विस्थापित भने होइनन् । हाल उनी काठमाडौंमा ब्यापार गरी बसेकी छन् । घिमिरे र लामिछानेबाहेकका अन्य शिक्षकहरु पनि विस्थापित भएको नाटक गर्दै विद्यालय नगइ तलब भत्ता खाने गरेका भए पनि उनहरुका बारेमा विस्तृत विवरण प्राप्त भएको छैन ।
यी शिक्षकहरु विद्यालयमा नगए पछि विद्यालयले नीजि श्रोतमा अन्य शिक्षकहरु भर्ना गरी काम चलाएको छ । जसबाट विद्यालयलाई आर्थिक भार बढीरहेको छ । तर पनि जिल्ला शिक्षा कार्यालयले यसबारे कुनै चासो नलिएको विद्यालयहरुको गुनासो छ । जिल्ला शिक्षा कार्यालय भने त्यस्ता शिक्षकहरुको तथ्याङ्क संकलन गर्दै गरेको दावी गर्छ । 'हामी त्यस्ता शिक्षक/शिक्षिकाहरुको तथ्याङ्क संकलन गर्दैछौं । ती शिक्षकलाई हाँजिर हुन वा कुनै जटिल परिस्थिति भए जानकारी दिन पत्र काटिसकेका छौं, तर उनीहरु सर्म्पर्कमा आएका छैनन्'- निमित्त जिल्ल शिक्षा अधिकारी देवेन्द्र खनालले भने ।
No comments:
Post a Comment