scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, July 2, 2008

साहित्यमय बन्यो पन्ध्र असार


असारमा खाने दुधिला मकै साउनमा खाने खिर
घरमा छैन शितलु बचन, मनमा छैन थिर ।
आज नि रोपाइँ भोलि नि रोपाइँ पर्सि नि जानु छ
ससुरा बा को अमिलो बचन पेटभरि खानुछ ।
असारे मासको दबदबे हिलो छुनलाई घिनलाग्यो
पातलीलाई फरिया किन्दा छ बीस ऋण लाग्यो ।
ब्याडमा धानको बीउ उखेल्दै यस्तै असार गीत गाउँदै लमजुङको दुराडाँडास्थित कछारथोक गाउँका महिलाहरुले आइतबार १५ असारको मेलो कटाए । असारे भाकाका गीत मात्र कहाँ हो र - १५ असारको मेलोमा साहित्यकारहरुले पनि असार अनि खेत रोपाइँ का विषयमा रचिएका कविता, गीत र गजल बाचन गर्दा कछारथोकको वातावरण नै साहित्यमय बनाइदियो ।
१५ असार चटारो छ, मौका यै हो छोप्नर्ुपर्छ
दिदीबैनी दाजु भाइ खेतमा धान रोप्नर्ुपर्छ
हिलो खेल्दै बीउ रोपौं मंसिरमा फल्छ धान
ठूला गरा, साना सोता, छेउ कुना कोप्नर्ुपर्छ
कृषिप्रधान देश हाम्रो कृषिमै बल गरौं हामी
खेतीयोग्य माटो भए बगर पनि खोप्नर्ुपर्छ ।
जिल्ला कृषि विकास कार्यालय लमजुङले दुराडाँडाको कछारथोकमा आयोजना गरेको राष्ट्रिय धान दिवस कार्यक्रममा असारे गीत मात्र गाइएनन्, असार महिना, किसान, कृषि कर्मका गीत, गजल, मुक्तक खुबै बाचन भए । १५ असारको मौकालाई छोप्दै साहित्यको उत्थानका लागि लमजुङे युवा साहित्यकारहरुको प्रयासमा स्थापित हिमालचुली कला साहित्य प्रतिष्ठान लमजुङले रोपाइँ साहित्य कार्यक्रमको आयोजना गर्‍योे । त्यस्तै लमजुङे युवा साहित्य समाजले कृषि कवि गोष्ठीको ।
कार्यक्रममा सदरमुकाम बेसीशहर, भोटेओडार, चिती, सुन्दरबजार, गाउँशहर लगायतका विभिन्न स्थानबाट सयौं साहित्यानुरागीहरु, स्थानीय किसान, सरकारी कार्यालयका प्रमुखहरु, संघ संस्थाका प्रतिनिधिहरु कछारथोक पुगेका थिए । बर्षौदेखि असारे भाकाका गीत सुन्न नपाएका उनीहरु असारे भाकामा लठ्ठ मात्र परेनन्, खेतका गरामा हिलो खेल्दै १५ असारको मेलो पनि सघाए ।
खेतको सिरानमा पञ्चेबाजा घन्किरहेको छ, तल खेतमा बाउसे र रोपारेहरुबीच जुहारी चलिरहेको छ, अनि माथिल्लो गरामा ब्याडे अनि लाठेहरुबीच हिलो खेल्न घम्साघम्सी परिरहेको थियो । गोरु जोत्नेहरु कोही ह.. ह.. माले, कोही हो..रा.. पच .. पच..गर्दै खेतका गरा हिलाउँदै -जोत्दै) थिए भने कोही आइज लाहुरे.. भन्दै दाँते लगाएर हलगोरु दौडाउँदै थिए ।
साहित्यकारहरु पनि कम्ती देखिएनन्, कोही दाँदेमा चढेर गोरु दौडाउन थाले, कोही बाउसे गर्ने बाहनामा हिलो छेप्न/खेल्न थाले । नजिकै अर्को गरामा हिलो छेप्दै केही साहित्यकारहरु कविता, गीत तथा गजलहरु बाचन गर्दै थिए । कवि गोविन्दबहादुर कुँवर, अंगराज घिमिरे, पशुपतिनाथ न्यौपाने 'लाटा', श्रीकृष्ण न्यौपाने लगायतका कविहरुले हिलो खेल्दै कविता र गीत वाचन गरे । ठाडो भाका गीतका साधक वरीष्ठ गायक भेडीखर्के साइँलाले कार्यक्रममा ठाडो भाका प्रस्तुत गरेका थिए । आनन्द घिमिरे, युवा साहित्यकारहरु-बेनबहादुर सुयल, नविनचन्द्र घिमिरे, तेजनारायण अधिकारी, कमला के.सी, बासुदेव थापा, लगायत दर्जर्नौ साहित्यकारहरुले सो अवसरमा आ-आफ्ना रचनाहरु बाचन गरेका थिए । सबैका रचनाहरु रोपाइँ र विशेष गरी कृषिसंग सम्बन्धित थिए ।
कार्यक्रम हर्ेदा लाग्थ्यो, त्यो रोपाइँमात्र होइन, ठूलै जात्रा हो, ठूलै साहित्यिक कार्यक्रमको भान कार्यक्रमका सहभागीहरुले गर्न पाए । 'नेपाली साहित्यले कृषिसंग अभिन्न साइनो राख्छ, त्यस्तै कृषि क्षेत्रले पनि साहित्यसंग सम्बन्ध राख्ने हुनाले रोपाइँका अवसरमा साहित्यीक कार्यक्रमको आयोजना गरेका हौं ' रोपाइँ साहित्यको आयोजक हिमालचुली कला साहित्य प्रतिष्ठानका अध्यक्ष आनन्द घिमिरेले भने ।
राष्ट्रिय धान दिवस, रोपाइँ साहित्य र कृषि कवि गोष्ठी कार्यक्रम स्थानीय विकास अधिकारी दिनानाथ लम्सालले उद्घाटन गरेका थिए । जिल्ला कृषि विकास कार्यालय लमजुङको सहयोगमा कछारथोकमा एस आर आई प्रविधिबाट धान रोपिएको छ । सोहीस्थानमा राष्ट्रिय धान दिवस, रोपाइँ साहित्य र कृषि कवि गोष्ठीको आयोजना गरिएको थियो ।
स्थानीय चन्द्रबहादुर बरालको खेतमा रोपाइँ कायक्रम आयोजना भएको थियो । जनता दुग्ध उत्पादक सहकारी संस्था एवं तरकारी समूहले सत्रसय युवा क्लव, सत्रसय आमा समूह, जिल्ला कृषि विकास कार्यालयको सहयोगमा कार्यक्रम भएको थियो । कार्यक्रमको अध्यक्षता बयोबृद्ध किसान पं. जनार्दन अधिकारीले गरेका थिए ।

No comments:

Post a Comment