लमजुङ भदौ ११
सप्तकोशीको बाँध फुटेर आएको बाढीबाट डुवान र कटानमा परेका सुनसरीबासीलाई लमजुङका विभिन्न स्थानमा राहत संकलन गरिएको छ ।
जिल्लास्थित सवै राजनीतिक दल, लमजुङ उद्योग बाणिज्य संघ, नागरिक समाज, कर्मचारी र गैरसरकारी संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीको सक्रियतामा शुक्रबार बेसीशहर बजारमा राहत संकलन गरिएको थियो । कार्यक्रममा नगद र जिन्सीसहित झण्डै ४० हजार बराबरको राहत संकलन गरिएको थियो ।
राहत संकलनमा माओवादीको भातृसंगठन वाइसिएलले पनि सक्रियता देखाएको छ । उक्त संगठनले बिहीबारबाट लमजुङ सदरमुकाम बेसीशहर, भोटेओडार, उदीपुर र सुन्दरबजारमा समेत राहत संकलन गरेको थियो ।
वाइसिएलले सोमबार एक पत्रकार सम्मलेनको आयोजना गरी जिल्लाभरको राहत संकलनबाट४३ हजार ९१ रुपैयाँ नगद संकलन भएको जानकारी गराएको छ । साथै त्यस अवसरमा पुरुष, महिला र बालबालिकाका लागि लगाउन मिल्ने विभिन्न नापका जम्मा ४ सय ७९ थान कपडा संकलन भएको बताएको छ ।
राजनीतिक दल, उद्योगी ब्यापारी, कर्मचारी, राजनीतिक दलका भातृसंगठनले सञ्चालन गरेको राहत संकलन अभियानमा सयौं र्सवसाधारणले मन फुकाएर कपडा, नगद तथा अन्य जिन्सी सामान सहयोग गरेका छन् ।
यसैबीच दैवी विपत्तिमा परेकाहरुलाई राहत उपलब्ध गराउन जिल्लास्थित सरकारी कार्यालयका कर्मचारीहरुले कम्तीमा १ दिनको तलब राहत उपलब्ध गराउने भएका छन् । त्यस्तै सामुदायिक अस्पतालका कर्मचारीले १ दिनको तलब कटाएर २० हजार ९ सय ८० रुपैयाँ बाढी पीडितहरुलाई राहत उपलब्ध गराएका अस्पतालले जनाएको छ ।
No comments:
Post a Comment