

पहाड पनि हिमाल बन्छ हिंउले ढाकेपछि
ढुङ्गा पनि मुटु बन्छ दिलमा राखेपछि
सोझो मनले हेरेपछि सोझै हुन्छ मान्छे
बाङ्गो दृष्टि राखेपछि बाङ्गै हुन्छ मान्छे
गजल तथा गीतकार थकित "यात्री"का यी गजल प्रसिद्ध गजल गायक शिशिर योगीले गाउन थालेपछी सोमबार साँझ लमजुङको बेसीसहर स्थित सभाहलका दर्शक मन्त्रमुग्ध भए ।
गजल तथा आधुनिक गीतका सयौं पारखीहरु गजल गायक शिशिर योगीको स्वरमा लठ्ठ परिरहेका बेला अर्का चर्चित गजलकार प्रकट पंगेनी शिव पनि के कम र, बुढ्यौली शरीर पनि तन्नेरी पार्दै एउटा गजल सुनाइहाले ।
हातमा समाई उनलाई खोला तार्नुको मजा बेग्लै थियो
सारीको सप्को अलि माथि सार्नुको मजा बेग्लै थियो
कुन्नि कता के के गर्दा छोयो केमा पाखुराले
त्यतिबेला मैले धीत मार्नुको मजा बेग्लै थियो...
प्रेमले तन्नेरी र बुढ्यौली के भन्थ्यो र, बैंशालु
प्रेमकहानीका गजलका हरफहरु स्वर र हाउभाउ मिलाउँदै प्रकटले भन्दै गए अनि गजलका सयौं पारखीहरु मन्त्रमुग्ध मात्रै भएनन् थपडी मारीमारी रमाउन पनि थाले । औंसीको चकमन्न रातपनि धपधपी बलेजस्तै भयो गजल र आधुनिक गीतले । कयौ जोडीहरु लाज लुकाउन रातापिरा बन्दै थिए भने कति त विछोडका पीडा गजलमा पाउँदा भावुक देखिन्थे । तैपनि गजलकार पंगेनी थाकेनन् जवानी र प्रेमकहानीका परिघटना गजलमार्फ थप्दै गए ।
प्रसिद्ध गजल कार प्रकट
पंगेनी शिव र गायक शिशिर योगीलाई एउटै थलोमा उतारेको थियो लमजुङ साहित्य समाजले । महाकवी लक्ष्मीप्रसाद देवकोटाको सतबाषिर्कीको अबसरमा आयोजित झिलिमिलि दिपावली साँझमा पहिलो पटक लमजुङमा गजल बाचन र गायन भएको थियो । रेडियो र टेलिभिजनमा सुन्ने र देख्ने गरेका प्रसिद्ध गजलका लेखक तथा गायकलाई आफ्नै सामु पाउँदा दर्शकहरुको भिड लागेको लमजुङ साहित्य समाजका सचिव तथा गजलकार थकित यात्री बताउँछन ।
गजल तथा आधुनिक गितका गायक शिशिर योगीले यो देशमा एउटा मान्छे खोजीरहेछु, झट्ट हर्ेदा शरिरमा कुनै खोट छैन, सारङ्गी त रेटेपनी बोल्छ मिठो धुन लगायतका आधुनिक तथा गजलका एक दर्जन गित गाए भने गजलकार प्रकट पंगेनी शिवले पनि तिन दर्जन गजलहरु बाचन गरेका थिए । अर्का गायक धर्मराज गुरुङले पनि अव त साँझ पर्यो लगायतका गित गाएका थिए । कार्यक्रम लमजुङ साहित्य समाजका अध्यक्ष अंगराज घिमिरेको अध्यक्षतामा भएको थियो ।
No comments:
Post a Comment