सुन्दरबजार- सिस्नो, कर्कलो, गुन्द्रुक पनि विक्रि हुन्छ भन्दा उनीहरु पत्याउँदैनथे । सामान बोकेर गाउँबाट र्झन लाज मान्ने महिला अहिले स-साना घरेलु उत्पादन विक्री गरेर आम्दानी गर्न थालेका छन् ।
बजार अभाव कृषिको प्रमुख समस्या हो र यसको सुनिश्चितताले गाउँकै कायापलट गर्न सक्छ भन्ने उदाहरण खोज्न सुन्दरबजार उदाहरण भएको छ। यहाँ शनिवारे हाट सुरु भएदेखि सुन्दरबजार र आसपासका गाविसका महिलाहरु आत्मनिर्भर हुन थालेका छन् ।
"अहिले घरब्यबहार चलाउन र केटाकेटीलाई पढाउने खर्चका लागि कुनै पीर छैन," तार्कु-२ गहतेकी बालकुमारी गुरुङ भन्छिन्-" ब्यापार गर्न थालेपछि पहिलाको जस्तो कसरी घरब्यवहार चलाउने चिन्ता छैन।"
आफ्नै करेसाबारीमै उत्पादन हुने सागसब्जी, गुन्द्रुक, कर्कलो, बनमा पाइने निउरो, सिस्नु, दाउरा जस्ता चीजविज बेचेर एकपटकमै ५ सयदेखि हजार रुपैयासम्म आम्दानी हुने बताउँदै उनी भन्छिन्- " हाटबजारले धेरै फाइदा पुर्याएको छ, आम्दानी पनि राम्रै हुन्छ ।"
बालकुमारीमात्रै होइन सुन्दरबजार वरपरका आधा दर्जन गाविसका महिलाहरुका लागि हाटबजार बरदान नै भएको छ । तार्कु गहतेकै सुनसरी गुरुङ पनि हाटबजारमा आई नियमित रुपमा घरेलु सामाग्री विक्री गर्छिन् । गतसाल साउन २६ गतेबाट सुन्दरबजारको मिलनचोकमा हाटबजार सुरुभएदेखि नै उनी त्यहाँ नियमित रुपमा घरेलु उत्पादन विक्रि गर्दै आएकी छिन् । घरमा आम्दानीको कुनै स्रोत नहुँदा उनलाई बालबच्चा पढाउन र घर्रखर्च चलाउन साह्रै गाह्रो थियो तर अब त्यो अवस्था छैन । उनको स-सानो खर्च अब हाटबजारबाटै जुट्न थालेको छ ।
शुरुमा गुन्द्रुक, सिस्नो, कर्कलोजस्ता चिज पनि पैसामा विक्रि हुन्छ भन्दा उनीहरु पत्याउँदैनथे । वर्ल्ड भिजनको सहयोगमा सुन्दरबजारस्थित सेकोड नेपालले हाटबजारको शुरु गरेको हो । हाटमा मौसम अनुसारका तरकारी, फलफूलदेखि सालको पात, हरिश, अनौ, जुवा, लोकल कुखुरा, घरमै तयार गरिएका डोका, नाम्ला, थुन्से, नाङ्ला, भकारीलगायतका हस्तकलाका सामानहरु विक्री हने गरेका छन् । पहिले गाउँलेहरु आफूलाई चाहिने भन्दा बढी तरकारी उत्पादन नै गर्दैनथे । बजारमा लगेर विक्री गर्ने सोच उनीहरुको थिएन । सुन्दरबजारमा हाट सञ्चालन भएदेखि सवै चिज बजारमा सजिलै विक्रि हुने भएकाले गाउँलेहरु हौसिएका छन् । गाउँको उत्पादन ताजा हुने भएकाले ग्राहकहरु पनि हाटमै ओइरो लाग्छन् । हाटमा नियमित ४५ भन्दा बढी कृषकहरु आफ्ना उत्पादन लिएर आउँछन् ।
परेवाडाँडा, सुन्दरबजार, तार्कु, भोटेवडार तथा तनहूँको रुपाकोट लगायतका गाविसबाट सामान बेच्न आउनेमध्ये ९० प्रतिशत महिला छन् ।
No comments:
Post a Comment