scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, April 7, 2010

अन्नपूर्ण मार्गमा इतिहासकै सर्वाधिक पर्यटक भित्रिए

बेसीशहर चैत्र २४

मुलुकमा शान्ति स्थापना भए पश्चात यसको प्रत्यक्ष प्रभाव पर्यटन क्षेत्रमा परेको छ । देशमा शान्ति स्थापना भएपछि सन् २००९ मा नेपालमा पर्यटक आगमनमा उत्साहजनक बृद्धि भएको छ । शान्ति बहाली भएकै कारण देशको प्रमुख पर्यटकीय क्षेत्र अन्नपूर्ण पदयात्रा मार्गमा सन् २००९ मा इतिहासकै धेरै पर्यटक भित्रिएका छन् ।

अन्नपूर्ण पदयात्रा मार्ग (थोराङ पास) विश्वका १० उत्कृष्ट पदयात्रा मार्गमध्येको एक हो । यो नेपालको सबैभन्दा व्यस्त पर्यटन मार्गको रुपमा पनि चिनिन्छ ।

नेपाल प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार सन् २००९ मा बेसीशहर हुँदै अन्नपूर्ण पदयात्रा मार्गमा १७ हजार ६५ पर्यटक भित्रिएका छन् । सन् २००८ मा यस मार्गमा १६ हजार ९ सय ११ पर्यटक भित्रिएका थिए । त्यस्तै सन् २००७ मा १४ हजार १ सय ९१ पर्यटक भित्रिएकामा सन् २००६ मा जम्मा ९ हजार ३ सय ६० पर्यटक यस क्षेत्रमा आएका थिए ।

तथ्याङ्क अनुसार सन् २००२ मा ९ हजार ८ सय ४१ पर्यटक आएकामा सन् २००३ मा ११ हजार १ सय ३६, सन् २००४ मा १० हजार ५ सय २६ र सन् २००५ मा ९ हजार ५ सय ९० पर्यटकले अन्नपूर्ण पदयात्रा मार्गको भ्रमण गरेका थिए ।

एक्यापको तथ्याङ्क अनुसार सन् २००९ को अक्टोबर महिनामा सबै भन्दा बढी र जुन महिनामा सबै भन्दा कम पर्यटक आएका थिए । एक्याप मनाङका प्रमुख इतिहासकै....

सन्तोष शेरचनका अनुसार सन् २००९ को अक्टोबरमा मात्रै ५ हजार ४ सय ५६ पर्यटक भित्रिएकामा जुन महिनामा एक सय ६२ पर्यटक आएका एक्याप मनाङका प्रमुख सन्तोष शेरचनले बताउनुभयो ।

थोराङपास गर्ने बाहेक अन्नपूर्ण क्षेत्रका अन्य भागमा आउने पर्यटकको हिसाव गर्ने हो भने यो संख्या अझ बढी छ । अन्नपूर्ण पदयात्रा मार्गमा आउनेमध्ये फ्रान्सेली पर्यटकको संख्या सबै भन्दा धेरै छ । त्यसपछि इजरायल, जर्मन, व्रिटिश, अष्ट्रेलियन, डच र अमेरीकी पर्यटकहरु बढी मात्रामा आउने गरेका छन् भने भारतीय पर्यटकहरुको संख्या भने न्यून रहेको छ ।

अन्नपूर्ण पदयात्रा मार्गमा जाने मुख्य बाटो लमजुङको सदरमुकाम बेसीशहरबाट शुरु हुन्छ । पर्यटक आउने सिजनमा यहाँ पर्यटकहरुको घुँइचो लाग्ने गर्दछ । सिजनमा बेसीशहर देखि मनाङको थोराङफेदीसम्मका होटलहरु खचाखच हुने गर्छन् ।

केही बर्ष यता अन्नपूर्ण पदयात्रा मार्गमा आन्तरिक पर्यटकहरुको समेत आकर्षण बढेको छ । विशेष गरी दशैं तिहार लगायतका विदाको समयमा यस क्षेत्रमा आन्तरिक पर्यटकहरु बढी मात्रामा जाने गरेका छन् ।

लमजुङको सदरमुकाम बेसीशहरबाट सुरु हुने पदयात्रा मार्ग खुदी, भुलभुले, ङादी, बाहुनडाँडा, घेर्मु स्याँगे, श्रीचौर, च्याम्चे जगत, हुँदै मनाङ प्रवेश गर्दछ । त्यस्तै मनाङको ताल, बगरछाप, दानाक्यू, चामे, ढुकुरपोखरी, पिसाङ, हुम्डे, मनाङ, टंकी मनाङ, याकखर्क, लेद्दर थोराङफेदी, हाइक्याम्प हुँदै ५ हजार ४ सय मीटरको उचाइमा रहेको थोराङ भञ्ज्याङ कटेर मुस्ताङ प्रवेश गर्नुपर्छ । थोराङ भञ्ज्याङबाट तीन घण्टा ठाडै ओरालो झरेर करीब डेढ घण्टा तेर्सो हिँडेपछि मुक्तिनाथ पुग्न सकिन्छ ।

लमजुङ हुँदै अन्नपूर्ण पदयात्रा मार्गमा जाने पर्यटकको संख्या बढे पनि पर्यटकहरुको बसाइ भने छोटिएको छ । जसका कारण पर्यटन ब्यवसायीहरुलाई चिन्तित बनाएको छ । निर्माणाधीन बेसीशहर चामे सडक निर्माणका कारण अन्नपूर्ण पदयात्रा मार्ग विस्थापित भएपछि ब्यवसाीहरु चिन्तित भएका हुन् । बेसीशहर–चामे सडक अन्तर्गत कूल ६५ किलोमिटरमध्ये हाल बेसीशहरबाट २८ किलोमिटर उत्तरमा पर्ने श्रीचौरसम्म मोटर चल्न थालेको छ । त्यस्तै मुस्ताङ जिल्लाको मुक्तिनाथसम्म पनि मोटर चल्न थालेको छ । सडक निर्माण भएपछि वैकल्पिक पदयात्रा मार्ग नहुँदा पर्यटकहरुलाई समेत असुविधा पुगेको छ । कतिपय स्थानमा पदयात्रा मार्ग हुँदै मोटरबाटो बनेको छ भने कहीँ मोटरबाटोले पदयात्रा मार्ग भत्किएको छ ।

मोटर बाटो निर्माण हुनु अघि अन्नपूर्ण पदयात्रा पुरा गर्न २८ दिनसम्म लाग्ने गथ्र्यो । तर अहिले मोटरबाटो बनेपछि विदेशी पर्यटकको लागि पदयात्रा छोटिएर जम्मा १६ दिनमा झरेको छ । नेपाली पदयात्रीहरुले भने ८÷९ दिनमै यात्रा पूरा गर्न सक्छन् ।

नेपाली पर्यटकले बेसीशहरबाट पदयात्रा शुरु गरेको दिन मनाङको ताल, दोस्रो दिन चामे, तेस्रो दिन पिसाङ, चौथो दिन हुम्डे, पाँचौं दिन उपल्लो मनाङ, छैटौंै दिन लेद्दर, सातौैं दिन थोराङफेदी हुँदै आठौं दिनमा थोराङ भञ्ज्याङ पार गर्न सक्छन् । विदेशी पर्यटकहरु भने पर्यप्त आराम गरी जाने भएकाले उनीहरुलाई ठीक दोब्बर समय लाग्ने गर्छ ।

निर्माणाधीन बेसीशहर चामे सडकको निर्माण कार्य सकिएपछि अन्नपूर्ण पदयात्रा मार्ग पुरैै विस्थापित हुने भएकाले यसको विकल्प खोज्नु पर्ने मनाङका पर्यटन ब्यवसायी तथा होटल यतीका सञ्चालक विनोद गुरुङ बताउनुहुन्छ ।





No comments:

Post a Comment