बेसीशहर जेठ १८-
शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५५४ औं जन्म जयन्तीका अवसरमा बेसीशहरमा आयोजित एक कार्यक्रममा देशमा दीगो शान्ति बाहली होस् भन्ने कामना गर्दै दीप प्रज्ववलन गरिएको छ ।
बुद्ध जयन्ती मूल समारोह समिति लमजुङको आयोजनामा भएको सो कार्यक्रममा लामा गुरुहरुले शान्तिको कामना गर्दै शान्ति धुन पनि बजाएका थिए ।
आ-आफ्नो जातीय पहिरनमा सजिएर जिल्लाका विभिन्न स्थानबाट सदरमुकाम बेसीशहरमा आएका बौद्ध धर्मावलम्बीहरुले बेसीशहरमा बृहत शान्ति पदयात्रा समेत गरे । मनाङ्गे चौताराबाट सुरु भएको पदयात्रा बेसीशहर बजार परिक्रमा गरी जिल्ला विकास समितिको सभाहलमा पुगी सभामा परिणत भएको थियो ।
नेपाल आदिवासी जनजाति जिल्ला समन्वय परिषद लमजुङका पर्ूव अध्यक्ष क्या. रणबहादुर गुरुङले उद्घाटन गर्नुभएको कार्यक्रममा तमु छोंज धिँ लमजुङका अध्यक्ष प्रेमबहादुर घले, आदिवासी जनजाति विद्यार्थी महासंघ लमजुङका अध्यक्ष जुनबहादुर तामाङ, तमु विद्यार्थी छोंज धिँका अध्यक्ष कृष्ण गुरुङ, तामाङ घेदुङबाट सुकबहादुर तामाङ, आदिवासी जनजाति पत्रकार महासंघ लमजुङका सचिव आश गुरुङ, धर्मोदय सभाका अध्यक्ष विजय गुरुङ, लामा गुरु ओम लामा लगायतले भगवान गौतम बुद्धको जीवनी र उहाँले पुर्याउनु भएको योगदानको चर्चा गर्नुभएको थियो । कार्यक्रममा विविधि सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो ।
No comments:
Post a Comment