लमजुङ पुस २०

यही आउँदो माघमा पानी घट्ट बेसीशहरमा मञ्चन हुँदैछ । यही मंसिरको अन्तिम साता प्रदर्शन गर्ने तयारी गरिएको पानी घट्टलाई प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनले पछि धकेलेको हो ।
पानीघट्ट प्रदर्शनको मिति तोकिएर पनि प्रदर्शनस्थलमा निर्वाचनका मत पेटिका राख्ने, मतगणना हुने जस्ता कारणले प्रदर्शन पछि सरेको हो । सम्भवत आगामी माघको १८, १९ र २० को लागि बेसीशहरको जिल्ला सभागृहमा यो नाटक मञ्चन गरिने छ ।
संस्कृति, पुस्तान्तरण र वैदेशिक रोजगारबाट समाजमा पर्न गएको प्रभावको कथावस्तुमा नाटक पानीघट्ट घुमेको छ । युवा पुस्ता रोजगारीका लागि विदेशिएपछि गाउँघर सुनसान जस्तै छन् । गाउँघरमा युवाहरु छैनन् भन्दा पनि हुन्छ । भए पनि नगन्य छन् । विदेश गएकाहरुले पठाएको रेमिट्यान्सले देश चलेको छ । यस्तै कथावस्तु जोडेर नाटक बनाइएको छ । परम्परादेखि ग्रामीण क्षेत्रमा चल्दै आएको पानीघट्ट अहिले विस्थापित भएका छन् । कतिपयलाई पानीघट्ट भनेको के हो भन्ने पनि थाह छैन । नाम सुनेका कतिपयले प्रत्यक्ष पानी घट्ट देखेका पनि छैनन् । कुनै जमानामा पानीघट्ट मान्छेको जीवनसंग जोडिएको थियो । दैनिक दिनचर्यासंग जोडिएको पानीघट्ट समयको रफ्तारसंगै लोप हुने अवस्थामा छन् ।
लमजुङ ठाडो भाकाको जननी हो । लमजुङ ठूलोस्वाँराका देउबहादुर दुराले सय बर्ष अघि शुरु गरेको ठाडोभाका लमजुङको मात्र नभै अहिलेको प्रदेश नं ४ कै लोकप्रिय भाका हो । देउबहादुर दुराको निधनपछि लमजुङ परेवाडाँडाका भेडीखर्के साइँलाले उनको बिँडो धानेका थिए । गत भदौमा उनै भेडीखर्केले पनि यो संसार छोडेपछि ठाडोभाका संकटमा छ । ठाडो भाकालाई पनि नाटकमा समावेश गरिएको मञ्जरी नाट्य समूहका अध्यक्ष केदार बोहोराले बताउनुभयो ।
पानीघट्टमा मञ्जरी नाट्य समूहका १७ जना कलाकारले अभिनय गर्ने भएका छन् । यसका लागि समूहका अध्यक्ष केदार बोहरा लगायत सबै कलाकारहरुले निकै मेहनत गरेका छन् । मञ्जरी नाट्य समूह लमजुङका कोषाध्यक्षसमेत रहेको रंगकर्मी सञ्जोग लामिछानेले पानीघट्ट आगामी फेब्रुअरीमा भारतको कोलकता शहरमा समेत प्रदर्शन हुने खुशीको खबर सुनाउनुभयो । गतसाल प्रदर्शन भएको फड्के र अब प्रदर्शन हुने पानीघट्टलाई मिलाएर नाटकका लेखक तथा निर्देशक पुरु लम्सालले पुस्तक समेत निकाल्नु भएको र सम्भवत पानीघट्टको प्रदर्शनको अवसर पारेर सो पुस्तकको विमोचन गर्ने तयारी भएको पनि लामिछानेले जानकारी दिनुभयो ।
No comments:
Post a Comment